
जनै पूर्णिमाको दिन सबै ठाउँका भराहरुको (बराहा/बराहनी) पुज्ने दिन पर्दछ । चाहे त्यो म्याग्दी/पर्वत होस् या बाग्लुङको ढोरपाटन या पश्चिमको रुकुम, रोल्पा । सबै ठाउँमा यो दिनमा बराहा पुज्ने गरिन्छ । बडा शब्दबाट बराहा, भरा र अहिले म्याग्दी तिर बराहनी भनेर पुज्ने गरिन्छ । प्राय ताल नजिक बराहाको बास रहेको छ । बिशेष गरी बराहा/भराहरुको बासस्थल लेक क्षेत्रमा नै छ । म्याग्दीको पाक्दारको लेक खयरमा रहेको खयर बराहा पनि ४ हजार ७ सय मिटर हाईटमा रहेको बराहा/भरा हुन् ।
मगर जातिमा ठुलो देवताका रुपमा बराहालाई लिई थानमा बली दिएर पूजा गर्ने गरिन्छ । बाह्रभाइ बराहाहरु मगरहरुका पवित्र पितृ देवता हुन् भने बाईसबहिनी बज्यूहरु मगरहरुका पवित्र पितृ देवी हुन् । (मगर, जे.आर.)
पहिले पहिले भरा पुज्न जाने भन्दै मान्छेहरु खयर जान्थे । अहिले बराहनी भनेर भनिन्छ ।
यिनै खयर बराहाका बहिनीहरु जनै पुर्णिको दिनमा छुट्टिएर जनै पूर्णिकै दिन भेला हुने भनेर वाचासाथ विभिन्न स्थानमा गएका थिए भन्ने कथन जनमानसमा छ । यिनै खयर बराहाकी साहिली बहिनी नागी बराहा पुज्ने दिनमा बराहा सम्बन्धी बुझ्न र केही दस्तावेजीकरण गर्न सकिन्छ कि नागी आउनुहोस्— व्यवस्थापन मिलाउने जिम्मा मेरो भो भनेर म्यासेन्जरमा निम्तो दिएका थिए— थमन तिलिजा मगरले । नागी बराहा पुज्ने क्रियाकलापलाई लेखन एवम् छायाँकन गर्ने कार्यलाई नकार्न सकिएन । र, छायाँकनको लागि देव पुन मगरसँग सल्लाह गरी हामी दुई जनै पूर्णेको एक दिन अगाडि नागी जाने निर्णय गरियो । र, पोखराबाट मोटर साईकलमा त्यसतर्फ गयौं ।
नागी गाउँ पहिले देखि गइरहेको गाउँ नै हो । २०६१ र २०६५ सालमा मेरो निर्देशनमा एजु÷एजु २ चलचित्र छायाँकन गरिएको स्थान— नागी गाउँ भएको कारण नागीसँग म परिचित नै छु । देवको यात्रा पनि नागी गाउँमा पहिलो होइन रहेछ । पहिले मोटर बाटो नहुँदा पैदल यात्रा गरी एजु छायाँकन गरिएको गाउँहरु नागी/राम्चे/काफलडाँडा/पुनहिलका रमणीय स्थलहरु मेरो— सम्झनाका तरेलीहरुमा छन् । काफलडाँडामा पुन मगरहरुको कुल देउताको थान बनाउने क्रममा बैसरी, महभीरबाट हिंडेर यात्रा गरिरहन्थेँ । बाटो पुगेपश्चात नागी/काफलडाँडा जिपमा यात्रा गरेकै हो ।
काफलडाँडामा पुन मगरहरुको राष्ट्रिय स्तरको थान २०६९ सालमा उद्घाटन भएपश्चात करबाकेली अनुसन्धान समिति विघटन गरियो, यसर्थ यो भेगको मेरो यात्रा धेरै कम भयो । काम पर्दा राम्चे, काफलडाँडा जाँदा पनि नागी गाउँमा नबसेको नै ११/१२ वर्ष भएछ । भनिन्छ— १२ वर्षमा खोला पनि फर्कन्छ । म नागी गाउँमा नबसेको लगभग १२ वर्ष पुग्नै लाग्दा बराहाले बोलाउनु भए जस्तै भो । १२ वर्षमा नागी गाउँ बास बस्न पुगें । यसर्थ नागी बराहा पुजाको छायाँकन गर्न सम्भव भयो । यो योजना सहितको कार्य हो जसले नागी बराहा थानको पहिचानमा महत्वपूर्ण कार्य हुनेछ । हामी आशावादी छौं ।
नागी यात्रा
यात्रा एक स्थानबाट अर्को स्थान जानु मात्र होइन, नयाँ अनुभव, ज्ञान र आनन्द प्राप्त गर्ने प्रक्रिया हो । प्राचीन कालदेखि मानिसहरु विभिन्न उद्देश्यको लागि यात्रा गर्दै आइरहेका छन्– कहिले व्यापारको लागि, कहिले धार्मिक, कहिले नयाँ ठाउँ र संस्कृतिको खोजीमा यात्रा गरिरहेका हुन्छन् । यात्रा गन्तव्यमा पुगरे समाप्त हुँदैन । बरु यात्रामा भेटिएका मानिस, देखिएका दृश्य, सुनेको कथा र पाएका अनुभवहरुको मिश्रण हो । जसले जीवनलाई अझ रंगीन र अझ अर्थपुर्ण बनाउँछ । साथै यात्राको अनुभवले नयाँ दृष्टिकोणको विकास गर्छ ।
जनै पुर्णेको अघिल्लो दिन बिहानदेखिनै आकाशमा बादल थियो । पुर्व योजनानुसार हामी रोकिने कुरै थिएन । १० बजेतिर बाईकमा हामी हुईकियौं— पोखरादेखि । पर्वतको अम्बोटको एउटा होटलमा असला माछासँग भात खाँदै गर्दा बाईकको बिल बुक ल्याउन बिर्सेको मलाई थाहा भो तर देवलाई केही भनिनँ । किनकि ट्राफिक चेकजाँचमा बाईकवालालाई त्यति चेक गर्दैन थियो । आज पनि नगर्ला भन्ने सोचाई थियो तर कुश्मा नजिक भाडाको बाईक भनेर कागज पत्र जाँच गरिहाल्यो । लाईसेन्स त थियो तर बिल बुक नलिई यात्रा गरेकोमा ट्राफिक प्रहरीले चिट काटिहाल्यो— हजार रुपैयाँको । मेरो यो पहिलो गल्ती थियो, ५ सयको चिट काट्नु पर्ने भन्दै प्रतिकार गरे तर केही लागेन । ईसेवादेखि पैसा तिर्नु पर्ने, मेरो मोबाईलमा ईसेवा डाउनलोड थिएन । यसर्थ फर्कदा तिर्ने र लाईसेन्स लिने भनेर लाईसेन्सको फोटो खिचेर यात्रा अगाडि बढायौं ।
देबको रोजाई बेनीदेखि माथि जाने थियो तर मैले बनौंसम्म मोटर बाटो पिच छ यतैदेखि जाउ भनेर कुश्मा कटेपछि अरमाडी ठाउँदेखि बनौंतर्फ उकालो चढ्यौं । पानी परिरहेको कारण रेनकोट लगाएर यात्रा गरिरहेको थियौं । बनौ गाउँसम्मको यात्रा त सहज नै भयो तर त्यसपश्चात हल्जुरे, देउराली, तारे, शालिजा, ओखरेनी, फलामे डाँडा, नागीको कच्ची सडक त्यसमा पानी परेर चिप्लो बाटो भएर बाईक यात्रा एडभेन्चर युक्त एवम् रमाइलो भो । नागी पुग्दासम्म मैले ९ पटक र देवले ६ पटक बाईक लडाएछौं । आफै पनि लडेछौं ।
दिनको ३ बजेर २५ मिनेट हुँदै थियो । चिया खान— २,४४५ मिटर उचाईमा रहेको हल्जुरे होमस्टेमा राकियौं । तातो चिया र बिस्कुट खाँदै एकक्षण हल्जुरेका हामेस्टे व्यवसायी कुस्मति पुर्जा मगरसँग (६८ वर्ष) गफियौं । हल्जुरे सबै मगर गाउँ हो । यहाँ पहिले २५/३० घरमा मान्छेहरु थियौं, अहिले स्कुल पढाउने भनेर सबै शहर झरेका छन् । त्यसैले अहिले त हामी ८ घर मात्रै छौं, त्यो पनि सबै बुढाबुढीहरु मात्रै पुर्जा मगरले हल्जुरे गाउँको यथास्थिति र समस्याबारे जानकार गराए । हल्जुरेको मात्र होइन— म्याग्दी, पर्वतका गाउँघरको हाल यस्तै हो । गाउँको विद्यालयमा पढाई राम्रो हुँदैन त्यसैले उमेर पुगेका जति शहर झर्दछन् । गाउँका घरहरु बुढाबुढीले कुर्ने काम भइरहेको छ । अझ सिंगो देशको हाल यस्तै छ । रोजगारको अभावमा युवा तन्देरीहरु विदेश जाने तरखर गरिरहेका छन् ।
नागी बराहा थान
नागी बराहाको थान लगभग २५ हेक्टर क्षेत्रफल रहेको बराहा पातल भित्र रहेको ताल नजिक निर्माण गरिएको थानमा पुजा पुज्ने काम हुन्छ । तालको नजिक चिच्याएर दर्शनार्थीको वर नागी बराहालाई मागिदिदै ताल भित्रबाट निकालिएको वस्तु दर्शनार्थीले पोका पारेर घर लैजाने काम हुन्छ । र, थापेको वर पुग्यो भने पाठा सहित वर फर्काउने काम हुन्छ । यो नागी बराहा थान रहेको बराहा पातल भित्रको जंगलबाट घाँस, दाउरा, पातपतिंगर संकलन, दिसापिसाब बिर्सजन गर्न, कुखरा/हाँस लिएर जानु हुँदैन । साथै महिनाबारी, गर्भवती महिला र सुखदुःखमा परेको परिवारहरु जंगलभित्र प्रवेश गर्न मनाही गरिएको छ ।
हालको तालभन्दा २ सय मिटर पुर्वपट्टि एउटा अर्को ताल छ । सबैभन्दा पहिले त्यही स्थानमा बराहा आएर बसेको कुरा नागीका सुनवीर झाँक्रीले थाहा पाएको कुरा नागी गाउँबारे अध्ययन गरेका थमन तिलिजा भन्छन् । रात परेको बेला त्यो बराहा पातलमा उज्यालो देखेर त्यहाँ जाँदा पानीमा उज्यालो टल्केर केही देखेनछन् । हप्ता दिनसम्म ताल नजिक गएर ध्यानमा बसेर मात्र उनलाई बराहाको दर्शन सम्भव भएछ । बराहाले आफु को र कहाँबाट आएको सबै कुरा बताइ दिएछन् । यसरी सोही स्थानमा जनै पुर्णिमाको दिन एउटा ढुंगा ठाडो र एउटालाई तेश्र्रो गरि राखेर बराहालाई सम्झेर पुज्न शुरु गरियो । यो पातलको नामाकरण नै बडा पातल भनेर गरियो हाल बराहा पातल भनिन्छ । सुनवीर झाँक्रीको देहान्त पछि उनको सम्झनामा नागी बराहा पुज्ने क्रममा कोरी पुजा गरेर उनको सम्झना गरिन्छ ।
नागी बराहामा वर मागेको पुग्ने हुँदा भक्तजनहरुको आगमन क्रमिक रुपमा बढदै गयो । भक्तजनको नियन्त्रण गर्न ध्यान गएन । कालान्तरमा यो ठाउँमा गर्भवती महिला, महिनाबारी भएका र सुखदुख भएका परिवार गएर अशुद्ध भएर बराहा सो स्थानदेखि अर्को तालतर्फ गएछन् ।
पर्वत जिल्ला जलजला गाउँपालिका १, बाँसखर्क गाउँका एक जना व्यक्तिलाई काम्ने विमारले छोएछ । धामी झाँक्रीलाई आखत हेराउँदा नागी बराहा शरीरमा उत्रिएर— मलाई गुरु मानेर पुजा गरेपछि ठिक हुनेछ भनेपछि उनले नागीको नयाँ तालमा आएर एउटा ढुंगा ठाडो र एउटा ढुंगा तेरसो गरि थान बनाएर पुजा पुज्न शुरु गरेछन् । धेरै पछि वि.सं. २०३३ सालमा सोही स्थानमा स्व. हल्दार पर्तविर गर्बुजा (ढिक्कीको हल्दार) ले थान निर्माण गर्नुभएछ । यसरी हालसम्म पनि सोही स्थानमा एउटा ढुंगा ठाडो र एउटा ढुंगा तेरसो गरि राखिएको स्थानमा पुजा पुजिन्छ । तर भक्तजनहरुको अत्यधिक आगमनको कारण ०७२/०७३ सालमा नागी बराहाको नयाँ थान निर्माण गरि थान बाहिर समेत पुजा पुज्न आउने भक्तजनहरुको सुविधालाई ध्यान राखेर व्यवस्थापन गरिएको छ ।
नागी बराहा पुजा संरक्षण समितिका अध्यक्ष तथा पाँरे गरिरहेका पदमबहादुर पुन मगर (५५ वर्ष) भन्छन्— यहाँ पहिल्यैदेखि मगरहरु नै पुजारे भई कार्यविधि सम्पन्न हुन्छ ।
चाहाना रोका मगर पोखराबाट बराहा पुज्न गएका थिए । उनको यो दोश्रो पटकको दर्शन रहेछ । नागी बराहाले मनले चिताएको पुरा गरिदिनुहुन्छ भनेर आएको हुँ । यस्तै बाग्लुङ नगरपालिका वडा नं. १० बाट बेली शाहीको यो पाँचौ पटकको दर्शन रहेछ । पहिले दुःख प¥यो, सुख शान्ति होस् भनेर भाकल गरिएको थियो । पोहोर साल पाठा लिएर आएको थिएँ । अहिले माटो छोड्न र दर्शन गर्नको लागि आएको हँु । म्याग्दी बरङ्जा, मंगला ४ की वर माग्नेहरुको लाईनमा उभिएकी कलिमाया रोका मगर (६७ वर्ष) पोहोर पनि आएको रहेछन् । यो पटक चाहिं वर माग्ने गरि आएको कुरा बताइन् । गडेखोलादेखि पहिले आएर आफ्नो बाबुको पढाईको सफलताको लागि वर मागेर गएकी रहेछिन् । अहिले सो वर पुरा भएर पुनः वर फर्काउन आफ्नो बाबासँग आएकी थिइन— गिता बि.क. ।
पहिलो पटक बराहा थानमा दरबाङबाट पुजा गर्न आएको छु । बराहाको दर्शनबाट मनले चिताएको पुग्छ भन्ने विश्वासको साथ आएका— तमबहादुर चोचाङी पुन मगर बाबा, आमा, सपरिवारको सुख शान्ति र छोरा छोरीहरुको पढाई राम्रो हुने गरिदिउ भन्दै वर थापेर गएका थिए ।
नागी बराहा थानप्रति आस्था एवम् विश्वास भएर नै मानिसहरुको आगमनको क्रम बढिरहेको छ । जनै पूर्णेबाहेक बार पारेर पुजा संरक्षण समितिलाई जानकारी गराएर नागी बराहा पुज्न जाँदा पनि हुने रहेछ । नागी बराहालाई सन्तान प्राप्तीको वर थाप्दा मागेको पुगेको कुरा प्राय सबैले भन्ने गरेका छन् भनेर नागी बराहा थान व्यवस्थापन समितिका सल्लाहकार खड्गबहादुर गर्बुजा मगर भन्छन् ।
वर थाप्न वा फर्काउन ताल छेउ गएर थापेको वर धन्यवाद सहित तालमा नै राखिन्छ भने के वर थाप्ने हो तालमा बसेको स्वयम् सेवकलाई नाम र वर भनिन्छ । स्वयम् सेवकले सो व्यक्तिले चिताएको कुरा चिच्याउँदै फलानो व्यक्तिले चिताएको फलानो वर दिने रे हैं नागी बराहा भनेर ताल भित्र डुबेर जे हातमा लिएर आउँछ त्यही चिज पोका पारेर वर थाप्नेले घर लैजान्छन् ।
अन्नपुर्ण गाउँपालिका ८, नागीमा यसपटक (२०८२, साउन २४) टाढा टाढाबाट भक्तजनहरु नागी बराहालाई सम्झेर वर थाप्न, वर फर्काउन एवम् पुजा गर्न आएका थिए । भकिम्ली, निस्कोट, मराङ, दरबाङ, विम, बेनी, बाग्लुङ, पोखराबाट आएका दर्शनार्थीहरु सबैले नागी बराहाले मनले चिताएको पुराईदिने हुँदा दर्शन गर्न र वर थाप्न आएको कुरा बताएका थिए । नागी बराहाले सबैले चिताएको पुरा गरिदिउन ।
मेजन पुन साथमा देव चोचाङी पुन मगर
सन्दर्भ सामाग्री
१) तिलिजा, थमन (२०७७ फागुन) । सानो गोरेटा, प्रकाशक : लेखक स्वयम् । काठमाडौं ।
२) मगर, जे. आर. (२०७७, चैत्र) । रोल्पा, रुकुम र बाग्लुङका मगरहरुको भाषा, साहित्य र संस्कृति । पेजः ९२