प्रत्येक बर्ष लुगुम गाउँमा लाग्ने ऐतिहासिक झाँक्री मेला । म्याग्दी देखि लागुम गाउँ सम्मको यात्रा ।
यात्रा — १ : म्याग्दीदेखि लुगुमसम्मको यात्राको आरम्भ (असार ३२) ।
साजन पुन मगर
धेरै अघिदेखि मेरो मनमा भुमे पर्वको अवसरमा रुकुम वा रोल्पामध्ये कुनै एक जिल्लामा पुग्ने चाहना थियो । विभिन्न समयमा साथीहरूबीच यस विषयमा छलफल भइरहन्थ्यो। अन्ततः निर्णय भयो—यस वर्ष रुकुम पूर्वको भुमे गाउँपालिका–१ स्थित ऐतिहासिक लुगुम झाँक्री मेला अवलोकन गर्ने । योजना तयार भयो । यात्रा तय भयो । अनि मनभरि उत्साह बोकेर हामी आफ्नो गन्तव्यतर्फ लाग्यौं ।
कतिपय यात्राहरू केवल एउटा ठाउँ पुगेर फर्किने घटनामा सीमित हुँदैनन् । ती यात्राले नयाँ भूगोल चिनाउँछन् । नयाँ मानिससँग परिचित गराउँछन्, संस्कृतिलाई नजिकबाट बुझ्न सिकाउँछन् र जीवनभर सम्झिरहने अनुभूति प्रदान गर्छन् । २०८२ सालको असार महिनाको अन्तिम दिन अर्थात् असार ३२ गतेबाट सुरु भएको मेरो लुगुम यात्राले पनि यस्तै अनुभूति दिलायो ।
म्याग्दीदेखि बागलुङसम्म — असार ३२ गते बिहान करिब ८:३० बजे म म्याग्दीबाट यात्रामा निस्किएँ । पहाडको यात्रा सधैंझैं घुम्ती, उकालो–ओरालो र प्राकृतिक सौन्दर्यले भरिएको थियो। बिहान ठीक १० बजे बागलुङ बजार पुगियो ।
केही समयको प्रतीक्षापछि पोखराबाट मेजन पुनमगर, देव बहादुर पुनमगर र टेकबहादुर पुनमगर दाई पनि आइपुग्नुभयो । सबै साथीहरू एकै ठाउँमा भेला भएपछि यात्राको उत्साह झन् बढ्यो । छोटो भेटघाट र आवश्यक तयारीपछि हाम्रो टोली मध्यपहाडी लोकमार्ग हुँदै रुकुमतर्फ अघि बढ्यो ।
मध्यपहाडी लोकमार्गको यात्रा — बागलुङ जिल्लाका विभिन्न गाउँ, पालिका, वडा र नगरपालिकाहरू पार गर्दै यात्रा निरन्तर अघि बढिरह्यो। असार महिनाको वर्षा, हरियालीले ढाकिएका डाँडाकाँडा, खोलानाला र पहाडहरूले यात्रालाई झन् मनमोहक बनाइरहेका थिए । करिब दिउँसो ४ बजे हामी बुर्तिबाङ बजार पुग्यौं । लामो यात्रापछि त्यहीँ खाजा खायौं । केहीबेर विश्राम गरेर फेरि यात्रा सुरु भयो ।
निसीखोलादेखि पाटीहाल्नेसम्म — बुर्तिबाङ छोडेपछि निसीखोला गाउँपालिका हुँदै यात्रा अगाडि बढ्यो । निसी र भुजी खोलाको मोटरे पुल पार गर्दै हामी बिस्तारै बागलुङ र रुकुमको सीमाना नजिक पुगिरहेका थियौं । झरी निरन्तर परिरहेको थियो । बादलले पहाडहरू ढाकेका थिए भने बीचबीचमा देखिने हरिया फाँटहरूले यात्राको थकान बिर्साइरहेका थिए ।
केही समयपछि हामी बागलुङ र रुकुमको सीमामा रहेको पाटीहाल्ने स्थान पुग्यौं । त्यहाँ केहीबेर विश्राम गरियो । स्थानीय परिवेशसँग घुलमिल हुँदै साथीहरूबीच रमाइला क्षणहरू बिते । यसै क्रममा टेकबहादुर दाइले मादलको मधुर ताल बजाउनुभयो । म त्यो तालमा नाचेँ । मेजन पुनमगर र देव बहादुर पुनमगर दाईले मज्जाले गीत गाउनुभयो । क्यामेराले ती अविस्मरणीय क्षणहरू कैद गरिरहेको थियो । यात्राको थकानभन्दा मित्रताको आत्मीयता धेरै ठूलो लागिरहेको थियो ।
रुकुम प्रवेश — साँझ करिब ६:३० बजेतिर हामी रुकुम पूर्वको भुमे गाउँपालिका–१ तर्फ झर्न थाल्यौं । बाटोमा कतै घरधुरीहरू देखिन्थे, कतै चुल्होमा खाना पाकिरहेको थियो। साउने सङ्क्रान्तिका अवसरमा कोही माइती जाँदै थिए भने कोही आफन्तको स्वागत गर्ने तयारीमा थिए । यी दृश्यहरूले ग्रामीण जीवनको सरलता, आत्मीयता र संस्कृतिप्रतिको सम्मान स्पष्ट देखाइरहेका थिए ।
लुगुम गाउँको पहिलो भेट — राति करिब ८ बजे हामी अन्ततः लुगुम गाउँ पुग्यौं । चारैतिर फैलिएको शान्त वातावरण, परम्परागत घरहरू, पहाडी बस्तीको सुन्दर बनोट र स्थानीयहरूको आत्मीय व्यवहारले लुगुम साँच्चै विशेष लागेको थियो ।
गाउँ पुगेपछि स्थानीय व्यवसायी लक्ष्मण दाइसँग बस्ने ठाउँबारे कुराकानी गरियो । तर मेलाको समय भएकाले सबै कोठा भरिइसकेका रहेछन् । त्यसपछि हामी भुमे गाउँपालिका–२, काँरीतर्फ लाग्यौं ।
काँरीमा पहिलो रात — करिब राति ९:१५ बजेतिर काँरी पुगियो। त्यहाँ रोल्पाका बोम बहादुर घर्ती मगर , गोपाल पुनमगर सिङ्रोन तथा स्वास्थ्यकर्मी तिलक रोकामर सँग आत्मीय भेट भयो । छोटो परिचय, भलाकुसारी र हाँसो–ठट्टापछि सबैले सँगै बसेर खाना खायौं ।
दिनभरको लामो यात्रा, झरी, घुम्ती बाटो र नयाँ ठाउँको उत्साहले शरीर थकित थियो। तर मन भने उत्साहित थियो । किनकि भोलिपल्टदेखि सुरु हुने लुगुमको संस्कृति, परम्परा र झाँक्री मेलालाई नजिकबाट हेर्ने अवसर हाम्रो प्रतीक्षामा थियो । यसरी असार ३२ गतेको दिन यात्रा, मित्रता, प्राकृतिक सौन्दर्य र नयाँ अनुभूतिहरूको संगम बनेर जीवनको अविस्मरणीय अध्यायका रूपमा स्मृतिमा अंकित भयो ।
यात्रा — २ स् साउने सङ्क्रान्ति, जन्मदिन र लुगुमको जीवित संस्कृति (साउन १) ।
असार ३२ गतेको लामो यात्रापछि काँरीमा बितेको पहिलो रात निकै शान्त रह्यो । पहाडी गाउँको चिसो हावा, झरीले भिजेको वातावरण र दिनभरको यात्राले शरीर थकित भए पनि मन भने उत्साहले भरिएको थियो । किनकि भोलिपल्ट केवल साउने सङ्क्रान्ति मात्र थिएन । त्यो मेरो जीवनको अर्को विशेष दिन पनि थियो — मेरो जन्मदिन ।
जन्मदिनको बिहान — बिहान आँखा खुल्दा घडीले करिब साढे आठ बजेको संकेत गरिरहेको थियो । रातिको थकान विस्तारै हट्दै गएको थियो । साथीहरू उठिसकेका थिए । सबैले आ–आफ्नो दैनिक कार्य सम्पन्न गरेपछि चियाको कपसँगै रमाइला गफ सुरु भए । जन्मदिनको शुभकामना दिने साथीहरूको आत्मीयताले त्यो बिहान अझ स्मरणीय बनाइदियो ।
काँरीबाट लुगुमतर्फ लाग्ने तयारी भयो। बाटोमै क्याङ्सीका स्थायी बासिन्दा तथा स्वास्थ्यकर्मी तिलक रोका मगरसँग केहीबेर कुराकानी गर्ने अवसर मिल्यो । उहाँको व्यवहारमा देखिएको सरलता, आत्मीयता र संस्कृतिप्रतिको सम्मानले पहिलो भेटमै गहिरो प्रभाव छोड्यो ।
लुगुमतर्फ पुनः यात्रा — हाम्रो टोलीको मुख्य उद्देश्य थियो । हरेक वर्ष साउनको पहिलो मंगलबार वा पहिलो शनिबार आयोजना हुने ऐतिहासिक लुगुम झाँक्री मेलाको पूर्वतयारी र गाउँको सांस्कृतिक परिवेशलाई नजिकबाट बुझ्नु । यात्राको क्रममा हामी निरन्तर स्थानीयहरूसँग सम्पर्कमा थियौँ। विशेष गरी ब्रिटिश सेनाबाट अवकाश प्राप्त बिरबहादुर घर्ती मगर दाइसँग म्याग्दीबाटै नियमित सम्पर्क भइरहेकाले लुगुम पुग्नुअघि नै उहाँले आवश्यक जानकारी र सहयोग गरिरहनुभएको थियो ।
लुगुम गाउँको आत्मीय स्वागत — लुगुम गाउँ पुगेपछि सबैभन्दा पहिले गाउँको केन्द्रमा रहेको झाँक्रीको सालिक अवलोकन गरियो। त्यो सालिक केवल एउटा मूर्ति मात्र होइन । गाउँको ऐतिहासिक पहिचान, सांस्कृतिक गौरव र झाँक्री परम्पराको प्रतीक रहेछ ।
त्यसपछि स्थानीय व्यवसायी लक्ष्मण दाइको होटलमा तीन दिन बस्ने व्यवस्था मिलाइयो । बिरबहादुर घर्ती मगरको दाईले आफ्नै घरमा बस्न आग्रह गर्नुभएको थियो । तर हामीले पहिले नै लक्ष्मण दाई सँग वचन दिएकाले उहाँको आग्रहलाई सम्मानपूर्वक स्वीकार गर्न सकेनौँ । उहाँले पनि मुस्कुराउँदै हाम्रो निर्णयलाई सहज रूपमा लिनुभयो ।
सिर्जनशील व्यक्तित्वहरूसँग भेट — केही समयपछि ुबुङखानीु गीतका सर्जक गोपाल पुनमगर, बागलुङका युवा क्यामेरा निर्देशक विश्वास पुनमगर साथै केही स्थानीय दिदीबहिनीहरूसँग भेट भयो । उहाँहरू खोलाको किनारमा गीत तथा दृश्य छायाङ्कनको तयारीमा हुनुहुन्थ्यो ।
छोटो परिचय, आत्मीय संवाद र केही तस्बिरपछि सबै आफ्ना–आफ्ना सिर्जनात्मक काममा व्यस्त हुनुभयो। यसले लुगुम केवल संस्कृति जोगाउने गाउँ मात्र नभई सिर्जना र कलाको पनि जीवन्त केन्द्र रहेछ भन्ने अनुभूति दिलायो ।
गाउँभित्रको खोज — दिउँसो करिब एक बजे खाना खाएपछि हामी गाउँभित्र पस्यौँ । त्यो दिन साउने सङ्क्रान्तिको विशेष अवसर भएकाले गाउँभरि छुट्टै चहलपहल थियो । करिब ६० देखि ९० वर्ष उमेर समूहका बुबाआमा तथा स्थानीय ज्येष्ठ नागरिकहरूसँग कुरा गर्दै हामी गाउँको इतिहास, संस्कार र परम्पराबारे जानकारी संकलन गर्न थाल्यौँ ।
लुगुमको प्रत्येक गल्ली । प्रत्येक घर । र प्रत्येक अनुहारले एउटा कथा बोकेको अनुभूति हुन्थ्यो । कतै पुराना घर, कतै ढुङ्गाका गोरेटो, कतै परम्परागत जीवनशैली—सबैले गाउँको मौलिकता झल्काइरहेका थिए ।
बिर बहादुर घर्ती मगरको घरबाट देखिएको लुगुम — गाउँ डुल्दै हामी फेरि बिरबहादुर घर्ती मगरको घरतर्फ लाग्यौँ । उहाँ गाउँकै काममा व्यस्त हुनुहुन्थ्यो । घरमा भाउजुसँग छोटो भलाकुसारीपछि हामी घरको माथिल्लो भागमा पुगेर लुगुम गाउँ नियाल्न थाल्यौँ ।
उचाइबाट हेर्दा लुगुम साँच्चिकै मनमोहक देखिन्थ्यो । हरिया डाँडाले घेरिएको बस्ती, ढुङ्गाका छाना भएका घर, खेतबारी र वरिपरि फैलिएको प्राकृतिक सौन्दर्यले मन लोभ्याइरहेको थियो । त्यो दृश्यलाई शब्दमा भन्दा क्यामेराले बढी राम्ररी कैद गरिरहेको थियो ।
कटुवाल र गाउँको सूचना प्रणाली — गाउँमा एउटा रोचक परम्परा अझै जीवित रहेछ—कटुवाल । उहाँको मुख्य जिम्मेवारी गाउँभर सूचना पुर्याउने रहेछ । स्थानीय भाषामा यसलाई ुघोक हाल्नेु भनिँदो रहेछ। आधुनिक सञ्चार प्रविधिको युगमा पनि यस्तो परम्परागत सूचना प्रणाली जीवित रहनु साँच्चिकै प्रशंसनीय लाग्यो ।
लुतो फाल्ने सांस्कृतिक अनुष्ठान — साँझ करिब सात बजेतिर गाउँका प्रत्येक घरको छानामाथि राँको तयार भइसकेको थियो । साउने सङ्क्रान्तिको मुख्य अनुष्ठान ुलुतो फाल्नेु सुरु हुँदै थियो ।
बिर बहादुर घर्तीमगर दाईको को घरमा पनि परिवारका सदस्यहरू तयारीमा हुनुहुन्थ्यो । घरमूलीले चुल्होको आगोबाट राँको बाल्नुभयो। त्यसपछि घरकी बज्यैले घण्टी र मालासहित पूजा सामग्री लिएर बाहिर निस्कनुभयो ।
नयाँ वर्षमा राम्रो उब्जनी, सुख–समृद्धि र रोगव्याधिबाट मुक्ति मिलोस् भन्ने कामनासहित विभिन्न अन्नबाली र सामग्री चढाइयो । त्यो दृश्य केवल धार्मिक कर्मकाण्ड थिएनस त्यो प्रकृतिप्रतिको सम्मान, कृषिप्रतिको विश्वास र पुस्तौँदेखि निरन्तर चल्दै आएको सामुदायिक संस्कृतिको जीवन्त अभ्यास थियो ।
हामीले पनि भिडियो र तस्बिरमार्फत ती क्षणहरू कैद गर्यौँ । राँकोको उज्यालोले अँध्यारो गाउँलाई आलोकित बनाइरहेको थियो भने मानिसहरूको अनुहारमा उत्साह, श्रद्धा र विश्वास स्पष्ट देखिन्थ्यो ।
दिनको समापन — रात विस्तारै गहिरिँदै गयो। हामी आफ्नै बासस्थानमा फर्कियौँ। दिनभर देखेका दृश्य, सुनेका कथा र अनुभवहरूबारे साथीहरूसँग लामो समयसम्म कुराकानी चलिरह्यो ।
त्यो दिन मेरो जन्मदिन पनि थियो र जीवनकै एउटा विशेष सांस्कृतिक अनुभवको दिन पनि । साउने सङ्क्रान्तिको त्यो साँझ, लुतो फाल्ने परम्परा, स्थानीयहरूको आत्मीयता र लुगुम गाउँको मौलिकता जीवनभर सम्झिरहने अमूल्य स्मृतिका रूपमा मनमा अंकित भयो ।
यात्रा — ३ : थबाङको इतिहास, महतको आत्मीयता र संस्कृतिसँगको साक्षात्कार (साउन २) ।
साउन २ गतेको बिहान लुगुम गाउँ शान्त र स्वच्छ वातावरणमा ब्युँझिएको थियो । रातभर परेको हल्का वर्षापछि पहाडका डाँडाकाँडा कुहिरोले ढाकिएका थिए । वरिपरि हरियालीले ओतप्रोत प्रकृतिले नयाँ दिनको स्वागत गरिरहेको थियो । पहाडी गाउँको बिहान सहरको जस्तो हतारोले भरिएको हुँदैन । यहाँ प्रकृतिको आफ्नै लय हुन्छ । र मानिसहरू पनि त्यही लयसँगै दिनको सुरुवात गर्छन् ।
म निद्राबाट ब्युँझँदा साथीहरू मेजन पुनमगर, टेकबहादुर पुनमगर र देवबहादुर पुनमगर दाईहरू उठेर चिया–नास्ता गरिसक्नुभएको रहेछ । म पनि दैनिक कार्य सम्पन्न गरी उहाँहरूसँग चियाको कप हातमा लिएर गफमा मिसिएँ । त्यस दिनको योजना स्पष्ट थियो । समय र मौसमले साथ दिएसम्म रोल्पाको ऐतिहासिक थबाङ गाउँ पुग्ने ।
थबाङतर्फको यात्रा — बिहानको चिया र हल्का खाजापछि हाम्रो टोली मोटरसाइकलमा लुगुमबाट पश्चिमतर्फ लाग्यो । मध्यपहाडी लोकमार्ग हुँदै यात्रा अघि बढ्दै जाँदा सडकका दुवैतर्फ फैलिएको हरियाली, खोल्साखोल्सी, कुहिरोले छोपेका पहाड र असार–साउनको वर्षाले धपक्क भिजेको प्रकृतिले यात्रालाई झन् रमणीय बनाइरहेको थियो ।
रुकुम र रोल्पाका पहाडहरू केवल भौगोलिक संरचना मात्र होइनन् । तिनले इतिहास, संघर्ष, संस्कृति र पहिचान बोकेका छन्। यात्रा गर्दै जाँदा ती पहाडहरूले मौन भाषामा आफ्ना कथा सुनाइरहेका जस्ता लाग्थे ।
पहिरोसँगको संघर्ष र थबाङको प्रवेशद्वार — बाटो भरी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेको थियो । कतै सडक साँघुरिएको थियो । कतै माटोले भरिएको थियो । सावधानीपूर्वक यात्रा गर्दै हामी करिब बिहान ११स्३० बजे थबाङको सीमाना पुग्यौँ ।
सीमानामा पुग्दा मनमा एउटा विशेष अनुभूति जाग्यो । धेरै पटक पुस्तक, समाचार र इतिहासमा पढेको थबाङ आज आफ्नै आँखाले देख्ने अवसर मिलेको थियो ।
खोले साग र पहाडी जीवन — सीमाना नजिकै बाटो छेउमा उम्रिएको खोले साग देखेपछि हामी केहीबेर रोकियौँ । पहाडी जीवनमा यस्ता प्राकृतिक तरकारीको विशेष महत्व हुन्छ । हामीले पनि केही साग टिप्यौँ । त्यो सानो घटनाले प्रकृतिसँगको मानिसको सम्बन्ध कति गहिरो हुन्छ भन्ने महसुस गरायो ।
ऐतिहासिक थबाङ गाउँ — दिउँसो करिब १२ बजे हामी थबाङ बजार पुग्यौँ । एउटा सानो होटलमा खाना खाने व्यवस्था गरियो। पहाडी गाउँमा पाइने सरल तर स्वादिलो परिकारले लामो यात्राको थकान मेटाइदियो ।
खाना खाइसकेपछि हामी चारै जना गाउँ घुम्न निस्कियौँ । देवबहादुर पुनमगर दाई भने ड्रोनमार्फत गाउँको दृश्य कैद गर्न व्यस्त हुनुभयो । म अनि मेजन पुनमगर र टेकबहादुर पुनमगर दाई भने ढुङ्गाले बनेका गल्ली, परम्परागत घर, स्थानीय जीवनशैली र ऐतिहासिक परिवेश नियाल्दै गाउँभित्र पस्यौँ ।
थबाङको प्रत्येक घर । प्रत्येक बाटो र प्रत्येक अनुहारले इतिहासको एउटा पाना पल्टाइरहेको अनुभूति हुन्थ्यो । यहाँको मौलिकता अझै जीवित रहेको देख्दा मन प्रसन्न भयो ।केही समयपछि देवबहादुर पुनमगर दाई पनि हामीसँग जोडिनुभयो । त्यसपछि पुनः गाउँको अर्को भाग अवलोकन गर्दै हामी रुकुमतर्फ फर्कियौँ ।
ढिकीसँगको साक्षात्कार — रुकुम फर्कने क्रममा बाटोमा एउटा खोलाको तिरमा परम्परागत ढिकी प्रयोग भइरहेको देख्यौँ । हामी पनि केहीबेर त्यहाँ रोकियौँ । आधुनिक प्रविधिको विस्तारसँगै धेरै ठाउँबाट हराउँदै गएको ढिकी यहाँ अझै दैनिक जीवनको हिस्सा रहेछ । हामीले पनि ढिकी चलाउने प्रयास गर्यौँ । स्थानीय दिदीबहिनीहरूले हाँस्दै सिकाउनुभयो । केही क्षणका लागि हामी पनि गाउँकै सदस्यजस्तै बन्यौँ । यस्ता अनुभवले यात्रालाई केवल अवलोकनमा सीमित नराखी जीवन्त बनाइदिन्छ ।
महत गाउँका दिदीबहिनीहरूसँग आत्मीय भेट — केही पर पुगेपछि महत गाउँका दुई जना दिदीबहिनी भेटिनुभयो । उहाँहरू पनि झाँक्री मेलामा सहभागी हुन जाँदै हुनुहुन्थ्यो । छोटो परिचयपछि निकै आत्मीय कुराकानी भयो । हामीले उहाँहरूबाट करिब दुई सय रुपैयाँ बराबरको केरा किन्यौँ । त्यो किनमेल व्यापारभन्दा बढी आत्मीयताको आदानप्रदान थियो। पहाडी गाउँमा अपरिचित मानिससँग पनि सहज रूपमा बोल्ने संस्कार अझै जीवित रहेको अनुभव भयो ।
महत गाउँको सौन्दर्य — केहीबेरपछि हामी भुमे गाउँपालिका–६, महत पुग्यौँ। महत गाउँ पनि आफ्नै मौलिकता बोकेको ऐतिहासिक बस्ती रहेछ । ढुङ्गाले बनेका घर, परम्परागत जीवनशैली र शान्त वातावरणले गाउँलाई विशिष्ट बनाएको थियो ।
गाउँका गल्ली हुँदै हिँड्दा लाग्थ्यो । यहाँ समय धेरै बिस्तारै बग्छ। आधुनिकताको प्रभाव पुगे पनि परम्पराको जग अझै मजबुत छ ।
तिलक रोका मगरसँगको पुनः भेट — साँझतिर हामी पुनः काँरी फर्कियौँ । त्यहाँ क्याङ्सीका तिलक रोका मगरसँग फेरी भेट भयो । उहाँसँग मेरो चिनजान करिब दुई वर्ष बितिसकेको रहेछ ।
त्यो साँझ मगर समुदायको भाषा, संस्कृति, संस्कार, परम्परा र वर्तमान अवस्थाबारे लामो छलफल भयो । मेरो व्यक्तिगत अनुभूतिमा तिलक दाइ प्रकृतिप्रेमी, संस्कृति संरक्षणप्रति गम्भीर र मगर भाषाप्रति अत्यन्त संवेदनशील व्यक्तित्व हुनुहुन्छ । उहाँका विचार सुन्दा संस्कृतिप्रतिको जिम्मेवारी झन् गहिरो महसुस भयो ।
गोपाल पुनमगरसँगको आत्मीय संवाद — छलफलका क्रममा गोपाल पुनमगर र विवश पुनमगर पनि उपस्थित हुनुभयो । गोपाल पुनमगरसँगको भेट विशेष रह्यो । उहाँका सिर्जनामा मगर खाम भाषा, अठार मगराँत क्षेत्रको इतिहास, संस्कृति र पहिचान जीवन्त रूपमा प्रतिबिम्बित हुन्छ ।
आजको पुस्ताले बिस्तारै बिर्सँदै गएको सांस्कृतिक सम्पदालाई गीत–सङ्गीतमार्फत जोगाउने उहाँको प्रयास वास्तवमै प्रशंसनीय लाग्यो । केहीबेरपछि उहाँहरू झाँक्री मेलाको तयारीका लागि लुगुमतर्फ लाग्नुभयोब। हामी पनि केही समयपछि उहाँहरूकै पछि लाग्यौँ ।
नयाँ यात्रासाथी — लुगुम फर्कने क्रममा हाम्रो यात्रामा अर्को नयाँ पात्र जोडिनुभयो—डा। कमल थापा मगर । छोटो परिचय मै उहाँको सरलता र मिलनसार व्यवहारले सबैलाई प्रभावित बनायो । यात्रामा नयाँ साथी थपिँदा यात्राको रौनक अझ बढ्ने रहेछ ।
दिनको अन्त्य — बेलुका पुनः लुगुम पुग्दा गाउँ झाँक्री मेलाको तयारीमा व्यस्त भइसकेको थियो । गाउँका गल्ली, घरआँगन र मानिसहरूको अनुहारमा भोलिको विशेष दिनको उत्साह स्पष्ट देखिन्थ्यो ।
हामीले पनि दिनभरका अनुभवहरू सम्झँदै भोलि हुने ऐतिहासिक झाँक्री मेलाको प्रतीक्षामा रात बितायौँ। मनमा एउटा मात्र भावना थियो—भोलि केवल एउटा मेला हेर्न होइन, पुस्तौँदेखि जीवित रहेको एउटा महान् सांस्कृतिक परम्परालाई नजिकबाट अनुभूति गर्न पाइनेछ ।
साउन ३ गतेको बिहान लुगुम गाउँ अन्य दिनभन्दा केही फरक देखिन्थ्यो । बिहानैदेखि गाउँमा छुट्टै चहलपहल थियो । पहाडमाथि हल्का कुहिरो मडारिएको थियो । चिसो हावाले गाउँलाई स्पर्श गरिरहेको थियो । र घर — घरबाट मानिसहरू मेलाको तयारीमा जुटिसकेका थिए । आज कुनै सामान्य दिन थिएन । आज लुगुमको वर्षौँदेखि निरन्तर लाग्दै आएको ऐतिहासिक झाँक्री मेलाको दिन थियो ।
हामी पनि बिहान सबेरै उठ्यौँ । चिया र हल्का नास्तापछि क्यामेरा, मोबाइल र आवश्यक सामग्री बोकेर गाउँतर्फ लाग्यौँ । आज हाम्रो उद्देश्य केवल मेला हेर्नु मात्र थिएन । त्यसभित्र जीवित रहेको संस्कार, संस्कृति, आस्था र सामुदायिक जीवनलाई बुझ्नु पनि थियो ।
झाँक्री परम्पराको अद्वितीय विशेषता — लुगुमको झाँक्री मेला नेपालका धेरै मेलाभन्दा फरक छ । स्थानीय परम्पराअनुसार प्रत्येक घर वा प्रत्येक थरबाट कम्तीमा एक जना झाँक्री हुनुपर्ने मान्यता रहेको रहेछ । अझ विशेष कुरा प्रत्येक वर्ष मेलाकै अवसरमा नयाँ झाँक्रीलाई सार्वजनिक रूपमा दीक्षा दिने चलन पनि रहेछ ।
यो परम्परा केवल धार्मिक अभ्यास मात्र होइन । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक ज्ञान, विश्वास र सामुदायिक उत्तरदायित्वको प्रतीक रहेछ । त्यसैले झाँक्री यहाँ व्यक्तिको मात्र पहिचान होइन, गाउँको सामूहिक संस्कृतिको अभिन्न हिस्सा हो ।
गाउँमा बढ्दै गएको चहलपहल — बिहान बित्दै जाँदा गाउँमा मानिसहरूको भीड बढ्न थाल्यो । विभिन्न गाउँबाट आएका स्थानीय बासिन्दा, आफन्त, अनुसन्धानकर्ता, कलाकार, सञ्चारकर्मी तथा आन्तरिक पर्यटकहरू लुगुमतर्फ आउँदै थिए ।
रङ्गीचङ्गी पोशाकमा सजिएका महिला, परम्परागत भेषभूषामा सजिएका पुरुष, हातमा बाजागाजा बोकेका समूह र झाँक्रीहरूको क्रमशः आगमनले सम्पूर्ण गाउँ उत्सवमय बनेको थियो ।
हामी पनि गाउँका विभिन्न स्थानमा पुगेर तस्बिर र भिडियो कैद गर्न व्यस्त भयौँ । क्यामेराको लेन्सले दृश्यहरू समेटिरहेको थियो भने मनले संस्कृतिको गहिराइ महसुस गरिरहेको थियो ।
झाँक्रीहरूको उपस्थितिले गाउँको रूपान्तरण — बिस्तारै झाँक्रीहरूको संख्या बढ्दै गयो । परम्परागत पहिरन, शरीरमा लगाइएका सांस्कृतिक सामग्री, हातमा रहेका धार्मिक उपकरण र अनुहारमा देखिएको गम्भीर भावले उनीहरूलाई विशिष्ट बनाइरहेको थियो ।
उनीहरूलाई देख्दा महसुस हुन्थ्यो—यी केवल व्यक्तिहरू होइनन्स पुस्तौँदेखि जीवित रहेको एउटा परम्पराका वाहक हुन् । गाउँभरि फैलिएको बाजाको ताल, झाँक्रीहरूको आगमन र स्थानीयहरूको श्रद्धाले सम्पूर्ण वातावरण आध्यात्मिक तथा सांस्कृतिक ऊर्जाले भरिएको थियो ।
भेटघाट र आत्मीय संवाद — मेलाको क्रममा विभिन्न जिल्लाबाट आएका धेरै व्यक्तित्वहरूसँग भेट गर्ने अवसर मिल्यो । रोल्पाका वरिष्ठ साहित्यकार बोमबहादुर घर्ती मगरसँग भेट हुनु मेरा लागि विशेष क्षण बन्यो । उहाँसँग मगर समाज, साहित्य, इतिहास र संस्कृतिका विविध पक्षमा छोटो तर अर्थपूर्ण संवाद भयो ।
त्यसैगरी निसीखोला गाउँपालिका मगर संघका अध्यक्ष अनुप बुढा मगरसँग पनि आत्मीय भेट भयो । मगर समुदायको वर्तमान अवस्था, सांस्कृतिक संरक्षण र नयाँ पुस्ताको भूमिकाबारे उहाँसँग भएको कुराकानी निकै प्रेरणादायी रह्यो । यात्राको सुरुदेखि नै सहयोग गर्दै आउनुभएका बिरबहादुर घर्ती मगर दाईसँग पनि पुनः भेट भयो । उहाँले स्थानीय परम्परा, गाउँको इतिहास र मेलाको विशेषताबारे थप जानकारी दिनुभयो । उहाँको आत्मीय व्यवहारले हामीलाई लुगुममा कहिल्यै पराइ भएको महसुस हुन दिएन ।
सामाजिक सञ्जालले जोडेको सम्बन्ध — मेलाको एउटा सुन्दर पक्ष के थियो भने — सामाजिक सञ्जालमार्फत चिनिएका धेरै व्यक्तिहरूसँग प्रत्यक्ष भेट्ने अवसर मिल्यो । वर्षौँदेखि केवल फेसबुक वा मेसेन्जरमा सीमित परिचय आज हात मिलाएर आत्मीय संवादमा रूपान्तरण भएको थियो । संस्कृति, भाषा, पहिचान, पर्यटन, इतिहास र मगर समुदायका विविध विषयमा धेरैसँग लामो छलफल भयो । यस्तो लाग्यो—लुगुमको यो मेला केवल धार्मिक वा सांस्कृतिक समारोह होइन । विचार आदानप्रदान गर्ने एउटा खुला विश्वविद्यालय पनि हो ।
दृश्यभन्दा गहिरो अनुभूति — हामी दिनभर क्यामेरामा दृश्य कैद गरिरह्यौँ । तर केही अनुभूतिहरू यस्ता थिए । जसलाई कुनै क्यामेराले कैद गर्न सक्दैन् । गाउँलेहरूको मुस्कान, पाहुनाप्रतिको आत्मीयता, पुस्तौँदेखि जोगाइएका परम्पराप्रतिको श्रद्धा र आफ्नो संस्कृतिप्रतिको गर्व । यी सबै मनमा गहिरोसँग बसिरहे । मेला हेर्दै गर्दा पटक–पटक एउटै प्रश्न मनमा आइरह्ये । यस्ता मौलिक सांस्कृतिक सम्पदालाई भावी पुस्तासम्म कसरी सुरक्षित राख्ने । आधुनिकता आवश्यक छ । तर त्यसका नाममा आफ्ना जरा बिर्सनु हुँदैन भन्ने सन्देश लुगुमले व्यवहारमै सिकाइरहेको थियो ।
साँझको शान्ति र दिनको समीक्षा — बिस्तारै साँझ पर्न थाल्यो । गाउँको चहलपहल क्रमशः शान्त बन्दै गयो । हामी पनि बासस्थानमा फर्कियौँ । रातिको खानापछि सबै साथीहरू दिनभरका अनुभव सुनाउँदै बसेका थियौँ ।
कसैले फोटोबारे कुरा गरिरहेका थिए । कसैले भिडियो सम्पादनको योजना बनाइरहेका थिए । कसैले स्थानीयसँग भएका संवाद सम्झिरहेका थिए । म भने मनमनै सोचिरहेको थिएँ । आज मैले एउटा मेला मात्र देखिनँ । मैले एउटा जीवित सभ्यता, एउटा जीवन्त इतिहास र एउटा आत्मीय समुदायलाई नजिकबाट अनुभूति गरेँ ।
त्यो रात निद्रा पनि फरक किसिमको थियो । आँखामा दिनभर देखिएका दृश्यहरू थिए । कानमा अझै बाजाको ताल गुञ्जिरहेको थियो । र मनमा एउटा दृढ विश्वास जन्मिएको थियो । लुगुमको झाँक्री मेला केवल रुकुमको मात्र सम्पत्ति होइन । यो सम्पूर्ण मगर समुदाय र नेपालको अमूल्य सांस्कृतिक सम्पदा हो ।
यात्रा —। ५ : फर्किने यात्रा, आत्मबोध र एउटा अविस्मरणीय अनुभव ९साउन ४० ।
हरेक यात्राको एउटा सुरुवात हुन्छ र एउटा अन्त्य पनि । तर केही यात्राहरू यस्ता हुन्छन् । जसको अन्त्य केवल गन्तव्यमा पुगेर हुँदैन । ती यात्राले जीवनभर साथ दिने सम्झना, सिकाइ र अनुभूति छोडेर जान्छन् । लुगुमको चारदिने यात्रा पनि त्यस्तै एउटा अमूल्य अनुभव बन्यो ।
लुगुमसँग बिदाई — साउन ४ गते आइतबार बिहान हामी सबेरै उठ्यौँ । रातभरको थकान हटिसकेको थियो । तर मन भने अलि भारी थियो । चार दिन बिताएको लुगुम गाउँसँग बिदाई हुन लागेको थियो ।
हातमुख धोएपछि सबैले सँगै बसेर बिहानको नास्ता गर्यौँ । होटल परिवारसँग आत्मीय बिदाइ साट्यौँ । छोटो समयमै बनेको आत्मीय सम्बन्धले लुगुमलाई केवल यात्राको गन्तव्य होइन । आफ्नै गाउँजस्तै बनाइदिएको थियो । मोटरसाइकल स्टार्ट भयो । पछाडि फर्केर एकपटक लुगुम गाउँलाई नियाल्यौँ । हरिया डाँडाबीच बसेको त्यो सुन्दर बस्ती बिस्तारै आँखाबाट टाढिँदै गयो । तर मनबाट कहिल्यै टाढा जान सकेन । यात्रा निरन्तर अगाडि बढिरह्यो ।
पाटीहाल्नेमा अन्तिम विश्राम — लुगुमबाट उकालो चढ्दै हामी पुनः बागलुङ र रुकुमको सीमास्थित पाटीहाल्ने पुग्यौँ । त्यहाँ केही समय विश्राम गरियो । म । मेजन पुनमगर र टेकबहादुर पुनमगर दाइले एक–एक कप तातो चिया पियौँ । देवबहादुर पुनमगर दाई भने केही अघि नै मोटरसाइकल मोडेर अगाडी बढिसक्नुभएको थियो ।
पहाडको चिसो हावा, कुहिरो र चियाको तातोपनले यात्राको थकान क्षणभरमै हरायो। केहीबेरको विश्रामपछि हामी पनि पुनः यात्रामा लाग्यौँ ।
वर्षासँगैको यात्रा — फर्कने क्रममा मौसम फेरी बद्लियो । आकाशमा बादल मडारिए र केहीबेरमै सिमसिमे वर्षा सुरु भयो। पहाडी यात्रामा वर्षा नौलो होइन । तर त्यसले यात्रालाई थप चुनौतीपूर्ण बनाउँछ । हामी सावधानीपूर्वक मोटरसाइकल चलाउँदै अघि बढ्यौँ । वर्षाले कपडा भिजाइरहेको थियो । तर मन भने चार दिनको सुन्दर स्मृतिले न्यानो थियो ।
अनुप बुढा मगरको आत्मीय आग्रह — बाटोमा निसीखोला गाउँपालिका मगर संघका अध्यक्ष अनुप बुढा मगरसँग पुनः भेट भयो । उहाँले त्यस दिन त्यहीँ बस्न आग्रह गर्नुभयो । किनकी त्याहाँ स्थानीय मेला पनि लागिरहेको थियो । मनले केही क्षण त्यहीँ बसौँ भन्ने चाहना अवश्य गर्यो । तर समयको सीमाले हामीलाई अगाडि बढ्न बाध्य बनायो । फेरी भेट्नेछौँ । भन्ने वाचासहित उहाँसँग बिदाइ साटेर हामी यात्रामा अघि बढ्यौँ ।
बुर्तिबाङमा मध्याह्न विश्राम — करिब चार–पाँच घण्टाको यात्रापछि हामी बुर्तिबाङ बजार पुग्यौँ । लामो यात्रापछि सबैलाई भोक लागिसकेको थियो । बजारको एउटा होटलमा बसेर सँगै खाना खायौँ । भोजनसँगै चार दिनका अनुभवहरू सम्झना गर्दै हाँसो–ठट्टा पनि चलिरह्यो । यात्रा सकिन लाग्दा साथीहरूसँग बिताएका प्रत्येक क्षण झन् मूल्यवान् लागिरहेका थिए ।
बिहुँकोटमा खाँई पुनमगरको ऐतिहासिक भवन — बुर्तिबाङबाट बागलुङतर्फ लाग्दै गर्दा हामी बिहुँकोटस्थित खाँई पुनमगरको ऐतिहासिक भवन पुगेका थियौँ ।
भवनको संरचना निकै पुरानो भए पनि त्यसले मगर समुदायको ऐतिहासिक अस्तित्व र गौरव बोकेको स्पष्ट देखिन्थ्यो । हामीले भवनको अवलोकन गर्यौँ । केही तस्बिर खिच्यौँ र इतिहासका केही पानाहरू मनमनै पल्टायौँ ।
पुराना ढुङ्गा, पुरानो वास्तुकला र समयका अनेक उतारचढाव सहँदै उभिएको त्यो भवनले एउटा सन्देश दिइरहेको थियो—समय बदलिन्छ, तर इतिहास मेटिँदैन् ।
बागलुङ हुँदै आ–आफ्नो गन्तव्यतर्फ — फेरि यात्रा सुरु भयो । बीच–बीचमा पानी परिरह्यो । पहाडी सडक, झरी र कुहिरो हाम्रो यात्राका अन्तिम सहयात्री बने ।
केही समयपछि हामी बागलुङ बजार पुग्यौँ । त्यहीँबाट यात्राको अन्तिम बिदाई सुरु भयो । मेजन पुनमगर, देवबहादुर पुनमगर र टेकबहादुर पुनमगर दाईहरू पोखरातर्फ लाग्नुभयो भने । म आफ्नै गृहजिल्ला म्याग्दीतर्फ फर्किएँ । चार दिनसम्म एउटै यात्रामा हिँडेका साथीहरू छुट्टिँदा एउटा खालको रिक्तता महसुस भयो । तर त्यही रिक्तताभित्र मिठा सम्झनाहरू भरिएका थिए ।
अन्त्यमा — लुगुमको यो यात्रा केवल झाँक्री मेला अवलोकन गर्ने यात्रा थिएन । यो यात्रा मगर समुदायको जीवित संस्कृति, परम्परा, भाषा, लोकविश्वास र सामुदायिक जीवनलाई नजिकबाट बुझ्ने अवसर थियो ।
यस यात्राले मलाई सिकायो— प्रकृति जति सुन्दर हुन्छ, संस्कृति त्यति नै गहिरो हुन्छ ।
पहिचान केवल इतिहासका पुस्तकमा लेखिने विषय होइन । त्यो गाउँका गल्लीमा, बाजाको तालमा, झाँक्रीको मन्त्रमा, लुतो फाल्ने परम्परामा, कटुवालको घोषणामा, किसानको पसिनामा र स्थानीयको आत्मीय मुस्कानमा जीवित रहन्छ । लुगुमले मलाई एउटा महत्वपूर्ण सन्देश दियो — ‘आधुनिक बन्नु आवश्यक छ । तर आफ्नो भाषा, संस्कृति, संस्कार र पहिचान बिर्सेर होइन् ।’
यो चार दिनको यात्रा सक्रिय । तर यात्राले छोडेको अनुभूति अझै पनि मनमा ताजै छ । पहाडका ती गोरेटाहरू, झरीले भिजाएका डाँडाहरू, लुगुमका गल्लीहरू, झाँक्रीहरूको सांस्कृतिक आभा स्थानीयहरूको आत्मीय व्यवहार र साथीहरूसँग बिताएका अमूल्य क्षणहरू जीवनभर मेरो स्मृतिमा जीवित रहनेछन् । सायद यही नै यात्राको सबैभन्दा ठूलो उपलब्धि हो । यात्रा सकिन्छ — तर यात्राले जन्माएको अनुभूति कहिल्यै सकिँदैन् ।
— साजन पुनमगर ।
धन्यवाद पात्रहरू — मेक बहादुर पुनमगर ‘मेजन’ । देव बहादुर पुनमगर । टेक बहादुर पुनमगर ।










